प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न रोक

काठमाडौं/गत ८ भदौमा नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे । उनको सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदारमाउँदै कैदी कतिखेर निस्किए, उनीहरूले चालै पाएनन् । ढोकामै बसेका उनीहरूले बुढाथोकी चिकित्सकको कोठाबाट निस्किएर अलि पर पुगेपछि मात्र देखे । पछ्याउने क्रममा कैदीलाई उनीहरूले भेट्टाउन सकेनन्, मोटरसाइकल चढेर फराए भए ।

यो घटनापछि कारागारमा कार्यरत प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डरबाहेक अन्य प्रहरीलाई मोबाइल बोक्न रोक लगाइएको उपत्यकाका कारागारको सुरक्षा हेर्ने अनाश्रित गुल्मका डिएसपी कुमारविक्रम थापाले बताए । मोबाइल चलाउँदा ड्युटीमा खटिने प्रहरीको ध्यान काममा केन्द्रित नहुने भएपछि मोबाइल बोक्न रोक लगाइएको उनको भनाइ छ ।

ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छः डिआइजी टेकप्रसाद राई, प्रवक्ता, नेपाल प्रहरी

ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल प्रयोग गर्न निषेध छ । यसमा धेरै प्रहरी कारबाहीमा पनि परेका छन् । सबैलाई जस्तै प्रहरीलाई पनि फेसबुक, टिकटक र युट्युबले भुलाउने भएकाले ड्युटीमा मोबाइल प्रयोग रोकेका हौँ । कसैले प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ ।

सो घटनामा संलग्न हवल्दार र जवानलाई निलम्बन गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । चेकजाँच गरेर निस्कँदा दुवै प्रहरी मोबाइलमा व्यस्त भएकाले आफू सहजै भागेको कैदी बुढाथोकीले बताएका छन् । उनलाई भोलिपल्टै प्रहरीले ललितपुरको लुभु बसपार्कबाट पक्राउ गरेको थियो । उनी कर्तव्य ज्यान मुद्दामा कारागारमा थिए । उपत्यका प्रहरी कार्यालयले एसपी देवेन्द्र पालको नेतृत्वमा घटनाको छानबिन गरिरहेको छ । समितिले मोबाइल प्रयोगबारे पनि बुझिरहेको छ ।

फेसबुक र टिकटकमा भुल्छन् प्रहरी

मोबाइल प्रयोगका कारण प्रहरीको काम प्रभावित भएको यो मात्रै घटना होइन । मोबाइलको लतका कारण विगतमा पनि पटक–पटक त्रुटि भएका छन् । जसमा धेरै प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

‘ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल प्रयोग गर्न निषेध छ,’ नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्, ‘यसमा धेरै प्रहरी कारबाहीमा पनि परेका छन् ।’ खासगरी लामो समय सडकमा खटिने ट्राफिक प्रहरीमाथि मोबाइल प्रयोगको आरोपमा धेरै छानबिन भएको छ । प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीलाई ड्युटीको समयमा मोबाइल प्रयोग नगर्न परिपत्र गर्दै आएको छ ।

‘सबैलाई जस्तै प्रहरीलाई पनि फेसबुक, टिकटक र युट्युबले भुलाउने भएकाले ड्युटीमा मोबाइल प्रयोग रोकेका हौँ,’ प्रहरी प्रवक्ता राईले भने, ‘कसैले प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ ।’ उनका अनुसार ड्युटीमा मोबाइल प्रयोग गर्नेलाई पहिलोपटक सचेत गराउने र दोस्रोपटक नसिहत दिने गरिएको छ । अहिले पनि यस्तो घटनामा छानबिन चलिरहेको उनले बताए । सामाजिक सञ्जाल प्रयोगदेखि मोबाइलमा व्यस्त हुँदा पुलिसिङमा त्रुटि हुने गरेको छ ।टिकटक बनाउने ४० प्रहरी कारबाहीमा परेका छन् ।

नेपालमा मात्र होइन, अन्य देशमा पनि ड्युटीको समयमा सुरक्षाकर्मीलाई मोबाइल प्रयोगमा कडाइ हुँदै आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।