औषधि उत्पादन क्षेत्रको पहिलो कम्पनी धितोपत्र बजारमा प्रवेश गर्दै, १० करोडको सेयर ल्याउँदै!

काठमाडौं/औषधी उत्पादन तथा बिक्री गर्ने कम्पनी पहिलोपटक सेयर बजारमा प्रवेश गर्ने भएको छ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो। कम्पनीले सेयर निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

क्यापिटलका अनुसार कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको २५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने छ। ३० करोड रुपैयाँ संस्थापकहरुबाट चुक्ता भईसकेको छ। बाँकी रहेको १० करोड रुपैयाँ सर्वसाधारणबाट उठाउन लागेको हो।

दुबै संस्थाबीच सर्वसाधरणमा सेयर जारी गर्नका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा ओम मेगाश्री फर्मास्यूटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो रहेर सर्वसाधारणमा साधारण सेयर जारी गर्न लागेको कम्पनीले अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलाइदिने थकालीले बताए।

गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध भएको इयू फर्मा टेक्निकल सपोर्ट रहेको ओम मेगाश्री फर्मास्यूटिकल्सको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा छ।

कम्पनीले युरोपियन गुड मेनिफेक्चरीङ प्रक्टिस (जि.एम.पी.) स्ट्याण्डर्स अनुसार औषधी उत्पादन गर्ने गरेको छ।

कम्पनीले नेपाल सरकार औषधी व्यवस्था विभागमा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको छ। बाँकी रहेका औषधीहरु उत्पादन स्वीकृतिको प्रकृयामा रहेको छ। बिजमाण्डुबाट साभार