चितवनका बोर्डिङ स्कुलहरुले शैक्षिक शुल्क ५० प्रतिशतसम्म बढाउन प्रस्ताव

चितवन/चितवनका बोर्डिङ स्कुलहरुले शैक्षिक शुल्क बढाउन प्रस्ताव गरेका छन् ।

बोर्डिङ स्कुलहरुको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन)’ चितवनले मूल्य बृद्धिको बाध्यात्मक अवस्था भन्दै ३० देखि ५० प्रतिशतसम्म शुल्क बढाउन स्थानीय तहलाई प्रस्ताव गरेको हो ।

स्थानीय तहको शिक्षा महाशाखा वा शाखाले यसको निर्णय गर्ने प्रावधान रहेको छ । प्याब्सनले असार २५ गते शनिबार एक विज्ञप्ति जारी गर्दै आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी स्थानीय तहको शिक्षा शाखामा पेस गरेको लामोसमय भइसक्दा पनि शुल्क समायोजन नभएको भन्दै प्याब्सनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समयमा स्थानीय तहले मूल्य समायोजनको निर्णय नगर्दा कक्षा ११ मा नयाँ शुल्क कति लिने अन्योल भएको भन्दै महंगीको कारण विद्यालय सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्था आएको विज्ञप्तिमा जनाइएको छ । प्याब्सनले विज्ञप्तिमा आफ्ना शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रन सक्ने भन्दै गम्भीर बन्न अनुरोध गरेको छ ।