गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

एजेन्सी/गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए ।

आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती पुरुषमाथि अनुसन्धान जारी राखेको छ ।

जापानी पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएपछि विश्वभरिबाट नेताहरूले घटनाको निन्दा गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।

६७ वर्षका सिन्जो आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनु हुन्थ्यो । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी नौ वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नुभएको थियो ।

सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले पद छाड्नुभएको थियो ।