मंसिर २ मा प्रतिनिधि र प्रदेशसभा निर्वाचन गर्न प्रस्ताव
काठमाण्डौं/मंसिर २ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै आयोग पदाधिकारीले निर्वाचनको मिति प्रस्ताव गरेका हुन् । दुवै सभाको कार्यकाल मंसिर २२ मा सकिने निष्कर्ष निकाल्दै आयोगले मंसिर २ गते शुक्रबार एकै चरणमा निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको हो ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभए पनि प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक–फरक मिति मान्नुपर्ने जस्तो देखिएकाले पहिलो निर्वाचित मितिलाई आधार मानेर पदावधि गणना गर्नु व्यावहारिक र निर्विवाद हुने’ आयोगले जनाएको छ । यसअनुसार दुवै सभाका सदस्यको पदावधि आगामी मंसिर २२ गते पूरा हुने निष्कर्षसहित त्यसअगावै निर्वाचन सम्पन्न गर्न मिति तोक्न परामर्श दिइएको आयोगको विज्ञप्तिमा जनाएको छ ।

 
                             
                            