चितवनमा पनि हैजाको जोखिम, भोलिबाट वास्ट कार्यक्रम सञ्चालन

काठमाण्डौं/चितवन पनि हैँजाको जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

काठमाडौँ र हेटौंडामा हैजाको संक्रमण देखिएसँगै चितवनमा पनि जोखिम रहेको बताएका हुन् ।
यसै जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयले पानी र सरसफाइसम्बन्धी (वास्ट) कार्यक्रम भोलिबाट चितवनमा सञ्चालन गर्दै छ । यस कार्यक्रममा स्वास्थ्य संस्थाका शाखा प्रमुखहरुको सहभागिता रहने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

अहिलेसम्म चितवनमा हैँजाको जिवाणु चितवनमा नभेटिए पनि बर्षाको समयमा यसको जोखिम कायमै रहने जिल्ला जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिइन् । पानी शुद्धिकरणको अभावमा हैजा फैलन सक्ने उनले बताइन् ।

चितवनमा बढ्दो शहरीकरणसँगै हैजाको जोखिम कायमै रहेको चिकित्सकहरु बताउँछन् । पानीमा ढल मिसिएमा हैजाको जोखिम बढी हुने भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले बताए । उनले भने, ‘ काठमाडौँ र हेटौंडा आवतजावत गर्दा हैजा चितवनसम्म फैलन सक्छ । पानीको स्रोतमा दिसा मिसिएमा हैजा फैलन्छ । चितवनमा बस्ती बढेसँगै सेफ्टी ट्याङ्की र पानीको स्रोतसँगै रहने भएकोले यसको जोखिम छ ।’ उनले कोरोना जस्तो सहजरुपमा हैजा नफैलने भए पनि हैजा चितवनको कुनै एउटा क्षेत्रमा फैलने जोखिम कायमै रहेको बताए ।