सौराहामा गरिएको हात्ती वनभोज विवादमा
चितवन/सौराहामा असार १६ गते गरिएको हात्ती वनभोजको विषय विवादमा परेको छ ।
मन्त्रालयको बजेट फ्रिज हुने देखिएपछि हतारमा मन्त्रालयका सचिवको ठाडो आदेशमा कुनै प्रचारप्रसार नगरी सुटुक्क वनभोज गरिएकोले सो कार्यक्रम विवादमा परेको हो । वनभोज अगाडि निकै प्रचारप्रसार गरिने गरेको भए पनि यसपटक भने वनभोज विवादमा परेपछि मात्र पत्रकारसम्मेलन गरिएको छ ।
पर्यटन प्रर्बद्धन तथा वन्यजन्तु बासस्थान समिति सौराहाले गरेको हात्ती वनभोजको क्षेत्रीय होटल संघ सौराहा सहित चार वटा संस्थाले विरोध गरेका थिए । ती संस्थाले आर्थिक हिनामिना गरेको आरोप लगाएपछि आयोजक संस्थाले आज सौराहामा पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गर्ने प्रयास गरेका छन् । समितिले भष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएको छ । पत्रकार सम्मेलनमा समितिका कार्यवाहक अध्यक्ष टीकाप्रसाद कँडेलले भने, ‘वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आग्रहका आधारमा हात्ती वनभोज कार्यक्रम गरेको हो । वनभोजमा भएको खर्चको बिल र भरपाइका आधारमा मन्त्रालयबाट बजेट निकासा हुने भएकाले आर्थिक हिनामिनाको आरोपको तुक छैन ।’
हामीले पैसा खाने मनसायले कार्यक्रम गरेका होइनौं उनले भने सौराहाको पर्यटन विकास गर्ने उद्देश्यले कार्यक्रम गरेका हौं । पत्रकार सम्मेलनमा हात्ती वनभोज कार्यक्रमको खर्च समेत सार्वजनिक गरिएको छ । समितिले मन्त्रालयबाट बजेट निकासा गरेको छैन् । पर्यटन मन्त्रालयका सचिव मदन कोइरालासँगको मौखिम सहमतिका आधारमा वनभोज कार्यक्रम गरिएको हो । हात्ती वनभोजमा दुई लाख २२ हजार २१४ रुपैयाँ खर्च भएको समितिले जनाएको छ । ओम रिजालको ९ वटा,बछौली स्थिति सरकारी हात्तीसारका ९ वटा,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका ८ वटा,खोरसोर हात्ती प्रजनन् केन्द्रका ३५ गरी ६१ वटा हात्तीलाई वनभोज खुवाइएको समितिका सचिव राममणि खनालले जानकारी दिए ।
पर्यटन मन्त्रालयले भेला महोत्सव शीर्षकमा विनियोजन गरेको बजेट फ्रिज हुने अबस्था आएपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम आयोजना गरिएको खनालले बताए । हात्ती वनभोज कार्यक्रम गर्ने संस्था स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका र आन्तरिक राजश्व कार्यालयमा दर्ता तथा पर्यटन मन्त्रालयमा सुचीकृत रहेको छ । समितिले क्षेत्रीय होटलसंघ सहित अन्य संघसंस्थासंग हात्ती वनभोज कार्यक्रम गर्दा समन्वय नगरेको भन्ने विषयमा समेत प्रष्ट पारेको छ । कार्यक्रमको विषयमा क्षेत्रीय होटल संघ र युनाइटेड हात्ती सहकारीसंस्थाका नेतृत्वहरुसँग छलफल गरेको समितिका सचिव खनालले दाबी गरे ।