जेठ १ गतेदेखि विद्यालय पनि हप्तामा २ दिन बिदा

काठमाण्डौ/आगामी जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आज बुधवार बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ ।

यस्तै विद्यालयमा हिउँदे, वर्षे, स्थानीय लगायतका बिदा कटाएर वर्षमा बढीमा ३० दिन मात्रै बिदा दिन पाइने भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
त्यस्तै बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । आज बुधबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।