भरतपुरका बागी उम्मेदवार पौडेललाई ‘भुईँ कटहर’ निर्वाचन चिह्न

चितवन/निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुईँ कटहर निर्वाचन चिह्न पाएका छन् । उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज उक्त निर्वाचन चिह्न प्रदान गरेको हो ।

यही चिन्हबाट लिएर उनी निर्वाचन अभियानमा जुट्ने भएका छन् ।

भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा नेकपा (माओवादी केन्द्र)लाई परेपछि उनी असन्तुष्ट हुँदा बागी उम्मेदवार बनेका हुन् । उनलाई कांग्रेसले शुक्रबार साधारण सदस्यबाट समेत हटाएको छ ।

उनले विपीको आदर्श र भरतपुरमा रहेका कांग्रेसीजनको निष्ठालाई अंगाल्दै भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी रहेको स्पष्ट पारेका छन् ।

उनलाई पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले मानेनन् र उम्मेदवार भएरै छाडे ।

अब ३० वैशाखमा हुने निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको भुईँ कटहर चिह्न लिएर सहभागी हुने भएका छन् ।