बिहेमा डिजे बजाउने विषयमा झडप, एक जनाको ज्यान गयो

राजविराज/बिहेमा डिजे बजाउने विषयमा भएको विवादमा सप्तरीमा एक जनाको ज्यान गएको छ ।

सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान ज्यान गएको हो ।

रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तिले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए ।

उनलाई उपचारका लागि विराटनगर स्थित नोवेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

युवकको ज्यान गएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना सडक अवरुद्ध पारेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा एक जनालाई पक्रेको र घटनको अनुसन्धान भइरहेको बताए ।