सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प

चितवन/नारायणगढ–मुग्लिन सडक खण्ड सुक्खा पहिरोका कारण ठप्प भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ ।

अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । थप अर्को डोजर पनि ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । सडकमा ठूला ठूला ढुङ्गासमेत खसेकाले हटाउन कम्तीमा पनि तीन–चार घण्टा लाग्ने अधिकारीले बताउनुभयो ।

रातिदेखि नै सडक ठप्प भएकाले दुवैतर्फ गाडीको लामो लाइन छ । यात्रुले गाडी भित्रै रात बिताएका छन् । यस्तै, प्रहरीले सडक खुलाउन समय लाग्ने भएकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा तत्काल नगर्न आग्रह गरेको छ ।