तनहुँको बन्दीपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

तनहुँ/तनहुँको बन्दीपुर गाउँपालिकामा जिप दुर्घटना हुँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

शुक्रवार बेलुका बन्दीपुर गाउँपालिकाको वडा नंं ६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले दिएको जानकारीअनुसार ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपान, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको छ । मृत्यु हुने सबै जना वडा नम्बर ६ कै छन् ।

घाइते ८ जनाको थप उपचारका लागि चितवन रिफर गरिएको पालिका अध्यक्ष थापाले जानकारी दिए ।