आज देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं/आज देशका केही ठाउँमा पानी पर्नुका साथै हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज विशेषगरी सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हिमपात पनि हुनेछ । यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षा हुनेछ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने उहाँले बताउनुभयो । हिजोदेखि मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली देशभर फैलिने क्रममा रहेकाले भोलि प्रदेश १ र प्रदेश २ मा पनि फैलिने देखिएको छ ।

भोलि प्रदेश १ र २ का एक–दुई ठाउँमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।