पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने

काठमाण्डौ/अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
आजदेखि मौसममा बद्ली हुने भएकाले अधिकतम तापक्रम केही घट्ने अनुमान छ । पुस सुरु भएपछि बिहान बेलुका न्यूनतम तापक्रम कम भए पनि दिउँसो घाम लागेकाले अधिकतम तापक्रम घट्न नपाएकोले धेरै चिसोको महसुस भएको थिएन ।

न्यूनतम तापक्रम नघटे पनि चिसो हावा चल्दा र घाम नलाग्दा बढी चिसो महसुस हुन्छ ।
अबको केही दिन देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ । बिहानको समयमा तुवाँलो लाग्नेछ । दिउँसोपछि तुवाँलो बिस्तारै हट्दै जाने  छ ।