सर्लाहीमा भएको कांग्रेसको वडा अधिवेशनमा झडप, ५ जना घाइते

सर्लाही/नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा सर्लाहीमा आज झडप भएको छ । वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो ।
गोली चलेको एक दिन नबित्दै पुनः आज भएको झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् । बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाका अनुसार झडपको क्रममा ५ जना घाइते भएका छन् । मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको उनको भनाई छ ।

यस्तै झडपमा परेर झासहित ३ जना प्रहरी र एक जना सर्वसाधारण पनि घाइते भएको उनले जानकारी दिएका छन् । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको छ ।