धादिङको गजुरीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

गजुरी/धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा आज बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङकी ११ वर्षीया कृपा अर्यालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते मृतककी आमा मिठु अर्यालको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डौमा रहेको ट्रमा सेन्टर पठाइएको छ । ट्रक चालकलाई प्रहरीको पक्राउ गरेको छ ।