छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

काठमाण्डौं/छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् । आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् ।
आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ पर्व समापन हुन्छ । कार्तिक शुक्ल चतुर्दशीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरिन्छ । छठमा विशेष गरी छठी माईको पूजा गरिन्छ ।

परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरिएको इतिहास छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख छ । त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ ।
यो पर्व नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । नेपालको तराई क्षेत्रमा मात्र मनाइने गरिएको यस पर्व केहिवर्षयता नेपालभर मनाउन थालिएको छ ।