एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्ने

काठमाडौं/अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको एक लाख ६ सय २० डोज फाइजर खोप आज नेपाल आउदैछ ।

अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज काठमाडौं आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानाकारी दिएको छ ।
फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ ।

एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

यसअघि अमेरिकाले जुलाई १२ मा १५ लाख ३४ हजार आठ सय ५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाउने सरकारको तयारी छ ।