आज ६६ औं प्रहरी दिवसः अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदै

काठमाडौं/आज नेपाल प्रहरीको ६६ औं स्थापना दिवस, सहिद अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरेर मनाइँदैछ।

प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच ३३ जनालाई सम्मान गर्न लागेको हो ।

समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिनुभयो ।

नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने, परिवारलाई कदर पत्र दिएर सम्मान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

यो वर्ष विरगति प्राप्त गरेका प्रहरीहरुका परिवारलाई यो सम्मान प्रदान गर्न लागिएको हो ।

कार्यक्रममा यो वर्ष उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानलाई पनि सम्मानित गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।