चूडामणि शर्मासँग अदालतद्धारा ५० लाख रुपैयाँ धरौटी माग

काठमाण्डौ/तत्कालीन कर फर्छ्योट आयोगका सदस्य एवम् आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ ।

कर फर्छ्योट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो । आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।

जथाभाबी कर छुट दिएर राज्य कोषमा एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।