पछिल्लो २४ घण्टामा आठ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ पछिल्लो २४ घण्टामा आठ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशत हो ।

देशभरबाट १३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८१ हजार नौ सय ३९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ ।

यही अवधिमा थप नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा १९ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ६८ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।