सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयन

काठमाण्डौँ/देशभर लागू हुने गरी सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो ।

विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ । अहिले पेट्रोल र डिजलको मूल्यसमेत बढेको छ । भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’मा इन्धनको सूचकलाई मात्र अहिलेको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ ।

विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।