भारतीय तस्करको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते

धनगढी/भारतीय तस्कर समूहको आक्रमणबाट कञ्चनपुरमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि सोमबार साँझ भारतीय तस्करहरुको समूहले आक्रमण गरेको हो ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जानकारी दिएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग जम्काभेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानकारी दिए ।

तस्करहरुको समूहलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि ३०/४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐरले बताए । आज तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ ।