आजदेखि देशभर ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

काठमाण्डौँ /देशभर आजदेखि ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए ।
त्यस्तै खोप शाखा प्रमुख सागर दाहालले काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने बताए । त्यसैगरी १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।
त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।
देशका मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका बाँकी ५८ जिल्लामा जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।
त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।