नवगठित तालिबान सरकारले महिला मन्त्रालय हटायो

काठमाण्डौ/नवगठित तालिबान सरकारले अफगानिस्तानमा महिला मन्त्रालय हटाएर नयाँ मन्त्रालय राखेको छ । बीबीसीका अनुसार शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको छ ।

महिला मन्त्रालय हटाएर राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उक्त मन्त्रालय तालिबानको नयाँ शासन सुरु हुनुभन्दा पहिलेदेखि नै अस्तित्वमा रहेको र सन् १९९६ देखि २००१ को दशमा तालिबानले आफ्नो शासनकालमा सो मन्त्रालय विस्तार गरेको थियो ।
साथै, सन् १९९० को दशकमा तालिबान शासनको क्रममा उक्त मन्त्रालयले कठोर इस्लामिक नियम पालना गराउनुका साथै महिलामाथि कडा प्रतिबन्ध लगाएको थियो । विगतमा अफगानिस्तानमा महिलाहरुले गरेको २० वर्षे संघर्षपछि आधारभूत आवश्यकताहरु प्राप्त गरेका थिए । तर, अमेरिकी सेनाको बहिर्गमनपछि पुरुषहरुको नेतृत्वमा नवगठित तालिबान सरकारले अफगानिस्तान महिलाले पाएका आधारभूत अधिकारहरु पुनः खोेको अवस्था छ।
हाल अफगानिस्तानका महिला कर्मचारीहरुले भने आफूहरुले काममा फर्किन पाउनु पर्ने भन्दै तालिबानसँग आग्रह गरेका छन् । –बीबीसीबाट