नेपाली कांग्रेस १४ औं महाधिवेशनः देशभरमा एक लाख बढी क्षेत्रीय प्रतिनिधि

काठमाण्डौ/देशभरका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट पार्टीको वडाध्यक्ष र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जानकारी दिए ।

कांग्रेसको विधानअनुसार १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडाबाट १५ क्षेत्रीय प्रतिनिधि र एक वडा सभापति गरी १६ जना चयन हुने छन् ।

वडा सभापतिले पनि क्षेत्रीय प्रतिनिधिसरह महाधिवेशन प्रतिनिधिको चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।