लागूऔषध सेवनद्वारा मृत्यु भएकी युवतीको मृत्यु प्रहरीले किन गुपचुप राख्यो ?

चितवन प्रहरीका सूचना अधिकारी नै लुकाउछन् सूचना !

चितवन/जिल्ला प्रहरी कार्यालय चितवनले गम्भिर प्रकारको मृत्यु (अत्याधिक लागुऔषध सेवनको कारण मृत्यु भएको एउटा घटना)लाई मृतकको आफन्त सँग मिलि गुपचुप बनाएको पाईएको छ । भरतपुर महानगरपालिका वडा नं. ५ (स्वामी चोक) स्थित एक आफन्तकोमा बस्दै आएकी वर्ष अन्दाजी २३ की ती युवती अजिना शर्मा (नाम परिवर्तन) को गत आषाढ १४ गते राती भएको मृत्यु प्रकरण (आत्माहत्या) लाई आफन्तहरु सँगको मिलेमतोमा चितवन प्रहरीले गुपचुप राखेको पाईएको हो ।
अत्याधिक लागुऔषध सेवन गरी मृत्यु भएकी युवतीको शव सँगै थप करिब एक झोला लागु औषध समेत बरामद गरेको प्रहरीले सो लागु औषध बारे हाल सम्म प्रेसलाई जानकारी दिएको छैन ।
उक्त प्रकरणमा प्रहरीले घटनासँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक नगर्नुले कता प्रहरी सँगैको मिलेमतोमै परिवारले घटनालाई गुपचुप राखेको त होइन भन्ने आम आशंका व्याप्त बनेको छ ।
लासको मुचुल्कामा हस्ताक्षर गरेका एक स्थानीयका अनुसार परिवारको प्रभाव र दबाबमा परि सबै तिरबाट नियोजित रुपमा घटनालाई गुपचुप राखिएको हुन सक्छ । मृतकको साथबाट भारी मात्रामा लागुऔषध भेटिएको भन्दै मुचुल्कामा हस्ताक्षर गराउने तर घटनालाई सार्वजनिक नगर्ने प्रहरीशैली शंकास्पद लागेको ति स्थानीयले भने । स्थानीयहरुका अनुसार मृतकका स–परिवार लामो समय अमेरिका बस्दै आएको र उनीहरु घटना घटे पछि केही दिन यहाँ आए पनि स्थानीय सँग खासै सम्पर्क नभएको बताए । जिल्ला प्रहरी तिरैबाट लास लगे, पारी तनहुँ (देवघाट)मा लगि लास जलाए बाँकी हामीलाई केही थाहा छैन तर मृतकको साथबाट तेत्रो लागुऔषध भेटिए पनि प्रहरीले घटनालाई मृतकको परिवारको प्रभावमा परि लुकाएको आशंका व्यक्त गरे ।
विगत ४/५ वर्ष देखि आफन्तकोमा बस्दै भरतपुरको अस्पताल रोडमा रहेको एक अस्पतालमा स्टाफ नर्समा कार्यरत ति युवतीको मृत्युलाई परिवार र प्रहरी दुवै तर्फबाट गुपचुप राख्नुले कतै मृतकको साथबाट भेटिएको एक झोला लागुऔषधको डिलर (सप्लायर्स) लाई जोगाउन त यो सब गरिएको होइन भन्ने गम्भिर आशंका पैदा भएको छ । सो लागु औषध सप्लाई कस्ले ग¥यो भन्ने प्रहरीले खोजीनीति नगर्नु वा गरेको भए सार्वजनिक नगर्नुले प्रहरी जनउत्तरदायी नभएको देखिन्छ ।

न श्रद्धाञ्जली न समवेदना !

घटना सुनियोजित रुपमा गुपचुप राखिएको मृतक युवतीको फेसबुक अकाउण्टबाट पनि प्रष्ट हुन्छ । एउटा कुकुर बिरालो मर्दा त अहिले सामाजिक सञ्जालमा “रिप” लेख्ने चलन छ । तर देशकै केन्द्रविन्दु चितवनको मुटु भरतपुरकी ति युवतीको मृत्युमा भने न त “रिप” र श्रद्धाञ्जली दिईएको छ न त परिवारलाई समवेदना नै । मानौ ति युवती अहिले पनि ज्यँुदै छिन् । ४ महिना १२ दिन अगाडीको उनको जन्म दिनमा १८ जनाले त उनको फेसबुकको टाईमलाईन मै शुभकामना दिएको देखिन्छ । त्यस्तै ७७ फागुण ७ गतेको उनको एउटा फेसबुक पोष्टमा ५२ जना साथीहरुले कमेण्ट गरेका छन् । त्यस्तै फागुण २१ कै अर्को पोष्टमा ४२ जना साथीहरुले कमेण्ट गरेको देखिन्छ । उनको निधन भएको यतिका दिन भईसक्दा पनि न आफन्त र नातेदार न साथीभाई कोही कसैबाट उनको मृत्युमा श्रद्धाञ्जली व्यक्त गरेको देखिन्न । यसले पनि लागुऔषध सेवन द्धारा मृत्यु भएकी ति युवतीको मृत्यु घटनालाई गुपचुप राख्ने प्रयास गरेको प्रमाणित हुन्छ ।

साथीहरु किन मुख खोल्न डराए ?
मृतकको निकटस्थ साथीहरु अस्पतालमा सँगै काम गर्ने स्टाफहरु र स्कुल कलेज सँगै पढेका उनका साथीहरुलाई सोध्दा उनको मृत्यु बारे उनीहरुले मुख खोल्न डराए । हामीले मृतककी हितैषी एक जना स्टाफ नर्स सँग कुरा गर्ने प्रयास गर्दा शुरुमा हामी सँग कुरा गर्न खोजेकी पछि उनी सम्पर्क मै आईनन् । उनी काम गर्ने अस्पताल मै कुरा गर्न गएपछि हामीलाई उनले प्रहरीले सोधेमा मात्र कुरा गर्नु अरु सँग केहि कुरा नगर्नु भनि उनका आफन्तले धम्की दिएको भन्दै उनले डराउँदै हामी सँग कुरै गर्न चाहिनन् । मृतकको दर्जन बढी साथीहरु सँग हामीले कुरा गर्न खोजे पनि उनीहरु डराएको देखे पछि सो मृत्यु प्रकरण थप रहस्मय देखियो ।

प्रहरी अनुसन्धान नै शंकास्पद
सो मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान नै शंकास्पद देखिएको छ । जिल्लामा घटेका साना–साना घटनाको पनि जानकारी दिने प्रहरीले यो गम्भिर घटना बारे प्रेसलाई जानकारी नदिनुले प्रहरी अनुसन्धान नै शंकाको घेरामा परेको छ । जिल्लामा घटेका अक्सर अन्य आत्महत्याका घटनाहरु बारे प्रेस नोट जारी गर्ने प्रहरीले यो घटनालाई सामान्य घटना भन्दै यथार्थ सार्बजनिक नगर्नुले
प्रहरीको कार्यशैली शंकाष्पद देखिएको हो। मृतकको साथमा भेटिएको ठुलो परिमाणको सो लागु औषध कहाँबाट आयो ? मृतकलाई कस्ले दियो ? मृतकलाई लागुऔषध दिनेहरु तर्फ अनुसन्धान किन गरिएन ? यी र यस्तै यावत प्रश्नहरु उठेकोले प्रहरी अनुसन्धान अधुरो र शंकास्पद देखिन्छ ।

आर्थिक चलखेलमा घटना गुपचुप बनाउन खोजेको आशंका
पछिल्लो समय जिल्ला प्रहरी कार्यालयमा लेनदेन सम्बन्धि मुद्दावालाहरुको घुँइचो नै देखिन्छ । त्यस्मा पनि मिटर व्याज र अवैध ढुकुटीवालाहरुको विगविगी बढेको देखिन्छ । लेनदेनको केश प्रहरीले हेर्न नमिल्ने भए पनि जिल्ला प्रहरीको गेटै छेउमा उजुरी तथा छानविन इकाईको दैनिक काम नै त्यहि हुन्छ । एक जना सई र अरु दुई तीन जनाको जनशक्ति लेनदेन हेर्न मै भ्याईनभ्याई हुन्छ । लेनदेनका मुद्दाहरुमा प्रहरीको बढी नै चासो देखिएकोले यो प्रकरणमा पनि आर्थिक चलखेलमा मृत्युको सुचना गुपचुप बनाउन त् लागेको त हैन भन्ने गम्भिर आशंका पैदा भएको छ ।
सूचना अधिकारी नै लुकाउछन् सूचना
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाले प्रायः सूचना लुकाउने गरेको आरोप लाग्ने गरेको छ । जिल्लाका अधिकांश पत्रकार प्रहरीले खास सूचना समयमा नदिने गरेको बताउँछन् । सञ्चार माध्यममा समाचार आईसक्दा पनि प्रहरीले आधिकारिक सूचना नदिदा कयौँ पल्ट आफुहरु अन्यौलमा पर्ने गरेको एक सञ्चारकर्मीले गुनासो गरे। यता चितवन प्रहरीले सञ्चालन गरेको ग्रुप म्यासेन्जरमा समेत प्रहरीले समयमा सूचना नदिएको भन्दै सञ्चार कर्मी हरुको गुनासो नै गुनासो देख्न सकिन्छ । अत्याधिक लागुऔषध सेवनको कारण मृत्यु भएको सो घटना सोही स्थानबाट बरामद गरिएको लागुऔषध बारे पनि सूचना अधिकारी थापाले सूचना लुकाएका हुन् ।

सबै घटना सार्वजनिक गर्नुपर्दैन एसपी अधिकारी
यसै बिच यस घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीलाई पत्र दिदा उनले पत्र प्राप्त गरेपछि फोन गर्दै सबै घटना सार्वजनिक गर्नुनपर्ने बताएका छन् । फोन संवादमा कुरा गर्दै प्रमुख अधिकारीले भने दैनिक ४।५ जनाको मृत्यु भईरहेको छ, ति सबै घटना कहाँ सार्वजनिक गरिएको छ र ? भन्दै उल्टै प्रति प्रश्न गरे । तपाईलाई केही कन्फुयजन भएको हुन सक्छ, त्यस्तो केही होईन भन्दै एसपी अधिकारीले घटनालाई सामान्यीकरण गर्ने प्रयास गरे । यसरी देशकै मुटु चितवन जिल्लाको भरतपुरमा अत्याधिक लागु औषध सेवनको कारण एउटी युवतीको मृत्यु हुन्छ । मृतकको साथबाट दर्जनौ एम्पुल थप लागु औषध र सिरिन्जहरु भेटिन्छ तर त्यो लागु औषध कहाँबाट ? कस्ले ? कहिले ? कसरी त्यहाँ ल्यायो त्यसबारे कुनै अनुसन्धान हुँदैन । खोजविन बाट आएका यथार्थ विवरणहरु प्रेसमा सार्वजनिक गरिदैन भने के प्रहरीको कार्यशैली माथि प्रश्न उठ्दैन ? परिवारका सदस्य र आफन्तले त आफुहरु बदनाम हुने हो की भन्ने डरमा घटनालाई लुकाउने नै भए तर राज्यको सुरक्षा अङ्गले समेत अनेक बाहाना र तर्क दिएर घटनालाई गुपचुप राख्नु के न्यायसंगत हुन्छ ? प्रहरीको काम लागुऔषध नियन्त्रण होइन र ? हो भने त्यो लागु औषधको श्रोत कहाँ हो ? अजीना जस्ता युवतीहरुलाई शिकार बनाउने लागु औषध सप्लायर्स को को हुन् ? उनलाई लागुऔषध दिने उनका आफन्त, साथीभाईमा अरु जो कोही हुन उनीहरुको खोजविन हुनुपर्दछ । यो घटनालाई प्रहरीले यथाशिघ्र सार्वजनिक गर्नुपर्दछ । अन्यथा प्रहरीको क्षमता, कार्यशैली र नियत माथि नै गम्भिर प्रश्न खडा हुनेछ । यसर्थ घटनाको पुनः थप अनुसन्धान गर्दै सो लागु आ्रैषध सुप्लार्यस सम्मलाई कानुनको कठघरामा उभ्याईनुपर्छ । अनुसन्धानको क्रममा कुनै प्रहरी अधिकृतको घटनालाई गुपचुप राख्न कुनै पनि प्रकारको संलग्नता पाईए तत्काल छानविन गरी आवश्यक कारवाहि गर्नुपर्दछ । घटना सँग सम्बन्धित सबै सत्यतथ्यहरु सार्वजनिक गरी प्रहरीको छवि थप धुमिल हुनबाट बचाउनुपर्ने देखिन्छ ।
भण्डाफोर अभियान साप्ताहिकबाट साभार।