अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ जना पुग्यो

अमेरिकामा बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ जना पुगेको छ ।
आँधी पछि आएको बाढीले अमेरिकाको न्यु योर्क र न्यु जर्सी सबैभन्दा धेरै प्रभावित भएको छ । न्यु योर्क र न्यु जर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ । केही नागरिकहरु बाढीको चपेटामा परेका कार र भवनको सबैभन्दा मुनिको तलामा फसेका छन् ।
समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा हुँदा बाढी आएको हो । बाढीका कारण न्यु जर्सीमा २३ जनाको ज्यान गएको त्यहाँका गर्भनर फिल मुर्फीले बताएका बीबीसीले जनाएको छ । यस्तै, न्यु योर्कमा १४ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २ वर्षका बालक समेत रहेका खबरमा उल्लेख छ । बाढीमा परेर अझै केही फसिरहेकाले उद्धारको काम चलिरहेको छ । यस्तै, पेन्सिलभेनियाको फिलाडेल्फिया नजिकै तीन जना र कनेटिकटमा एक जनाको ज्यान गएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्न ‘ऐतिहासिक लगानी’ आवश्यक पर्ने बताउनु भएको छ ।