बागमती सरकारले माडीका गन्धर्व समुदायका लागि ४६ घर र सांस्कृतिक संग्रहालय बनाइदियो

कान्तिपुर माडीमा बनेको सांस्कृतिक संग्रहालय

 

७ साउन, चितवन । माडी नगरपालिका–८ कान्तिपुरमा गन्धर्व समुदायका लागि ४६ वटा नमुना घर र सांस्कृतिक संग्रहालय बागमती सरकारले बनाई दिएकाृ छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले संग्रहालयको उद्घाटन सँगै घरको साँचो गन्धर्व समुदायलाई हस्तान्तरण गरका छन् । नमुना बस्ती र सांस्कृतिक केन्द्रको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले गाउँगाउँमा सिंहदरबार भन्ने भनाइ मात्रै नभई व्यावहारिक रुपमा कार्यान्वयन भएको बताए ।

प्रदेश सरकारले विपन्न र पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले कान्तिपुरका गन्धर्व समुदायका बाँकी घर पनि बनाउने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले आफ्ना लागि घर निर्माण गरिदिएपछि गन्धर्व समुदाय खुशी देखिएका छन् । स्थानीय डिलबहादुर गन्धर्वले पूर्खा र हामीले समेत नचिताएको कुरा कान्तिपुरमा पाएको भन्दै जीवन नै उज्यालो बनेको बताए । ‘हामी त चुहिने छानामुनि थियौं, प्रदेश सरकारले पक्की एट्याच्ड ट्वाइलेट बाथरुम भएको घरमा ल्याएर राखिदियो, अब यी घरमा होमस्टे सञ्चालन गरेर आयआर्जनमा जोडिन्छौं, खुशीको सीमा नै छैन हामीमा ।’ 

कृषिलाई पर्यटनसँग जोड्नका लागि होम स्टे स्थापनाका लागि एकिकृत नमुना वस्ती स्थापना गरिएको बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनु भयो । कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै ग्रामीण स्तरका नागरिकको जीवनस्तरमा सुधार ल्याउन प्रदेश सरकारले चक्लाबन्दी खेतीको अवधारणा अघि सारेको उहाँले बताउनु भयो । उहाँले प्रदेश सरकारले माडीको कान्तिपुर लगायतका ठाँउमा कृषि र पर्यटनका लागि करोडौं रकम विनियोजन गरेको जानकारी दिनुभयो । कान्तिपुरमा एक सय बिघामा सामुहिक चक्लाबन्दी खेती गरिएको हो । चक्लाबन्दी खेतीसँगै माछापालन, पशुपालन र तरकारी खेती गरिएको छ ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले माडीलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरेको भन्दै धन्यबाद दिनुभयो । उहाँले कान्तिपुरमा सडक र अन्य पूर्वाधार निर्माणका काम गर्नुपर्ने भएकाले अझैपनि प्रदेश सरकारको सहयोग आवश्यकता रहेको बताउनुभयो । उहाँले पालिकाले पनि सामुहिक चक्लाबन्दी खेतीका लागि प्राथमिकता राखेर काम गरिरहेको जानकारी दिनुभयो ।

बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत कृषि पर्यटन कार्यक्रम अन्तर्गत सो एकिकृत नमुना वस्ती निर्माण गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महत्तो, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, उप प्रमुख ताराकाजी महत्तो, कृषि सचिव मोतिना वैद्य जोशी लगायतको उपस्थिति रहेको थियो ।