भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने जाेडीलाई १ लाख सहित प्राेत्साहन गर्याे

नीति बनाएका छाैं, निरन्तरता दिन्छौं – मेयर दाहाल

– सराेज उपरकाेटी

 

असार ८, चितवन । चितवनकाे भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने जाेडीलाई सम्मान तथा पुरस्कृत गरेकाे छ । बुधबार महानगरपालिकाकाे दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिको आयोजनामा एक औपचारिक कार्यक्रम गर्दै दुई जाडीलाई सम्मान तथा पुरस्कृत गरिएकाे हाे । नगद एक लाख र  सम्मानपत्र प्रदान गर्दै अन्तरजातिय विवाह गर्ने जाेेेडी सम्मानित अभियान थालिएको दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति भरतपुर महानगरपालिका संयोजक चक्र रुचालले बताए ।

सो अवसरमा भरतपुर २७ का उदय सुनार तथा प्रतिमा गुरुङ सुनार र भरतपुर ६ का दिपक बुढाथोकी तथा निशा परियार बुढाथोकीकाे जाेडी सम्मानित भएकाेे समितिका संयोजक चक्र रुचालले जानकारी गराए । छुवाछूत मुक्त अभियान अन्तरगत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम सहित सम्मानपत्र प्रदान गरिएकाे संयाेजक रूचालकाे भनाइ थियाे । 

जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक उदय सुनार र गुञ्जनगर स्वास्थ्य चौकिकी अनमी प्रतिमा गुरुङ सुनारले ६ वर्ष प्रेम सम्बन्धपछि विवाह गरेका थिए ।

सो अवसरमा प्रतिमा गुरुङ सुनारले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको सम्मानले आफुहरुकाे समाज परिर्वतनकाे  काममा साथ पाएकोमा खुसी व्यक्त गरिन् । उनले बोलेर भन्दा पनि महानगरले काम गररै अभियान थालेकोमा यसलाई निरन्तरता दिन माग पनि गरिन् । तनहुँ व्यास नगरपालिका वडा नं. १ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदय संग अन्तरजातिय विवाह गरेकी थिएन् ।

यस्तै अर्का दम्पती दिपक बुढाथोकी र निशा परियार बुढाथोकीले ४ वर्षको प्रेम सम्बन्ध पछि विवाह गरेको बताउँदै समाजसगैँ स्थानिय सरकारले नै यसरी सम्मान गरेपछि यो अभियानले सार्थकता पाउने भन्दै खुसी साटे । कक्षा ५ सम्म बढेका दिपक सवारी चालक हुन् भने उनको श्रीमती कक्षा ११ मा पढ्दै छिन् । निशाले महानगरको अभियान अब गाउँ गाउँमा पुर्याउन आवश्यक रहेको बताईन् ।

साे कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरले नितिगत रूपमा नै व्यवस्था गरेर याे अभियान  चलाईएकाे र यसलाई निरन्तरता दिने बताईन् । समाजमा अझै विवेद रहेकाे र यसलाई निर्मुल पार्न यस्तै प्राेत्साहन सहितकाे कार्यक्रम ल्याउनु पर्ने र यसले नै धेरै जाेडिहरूलाई अन्तरजातीय विवाह गर्न प्राेत्साहन मिल्ने मेयर दाहालले बताईन् । धेरै जाेडिबाट यसै गरि अन्तरजातीय विवाह भए सामाजिक अन्तरघुलन हुने र छुवाछूत तथा विवेद हट्ने विश्वास मेयर दाहालकाे रहेकाे छ । यस्तै उपमेयर पार्वती शाहले जातिय विभेद र छुवाछुत रहित समाज निर्माणमा महानगरको अभियानले मुलुकमा नै नयाँ तरगं ल्याउने विश्वास व्यक्त गरिन् ।

सुरेन्द्र पाण्डे अर्थमन्त्री रहेकाे बेलामा नेपाल सरकारले पनि यहि कार्यक्रम ल्याएकाे थियाे । केही वर्ष चले पछि साे कार्यक्रमले निरन्तरता पाउन नसकेकाे हाे ।