भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री पोखरेल

जेठ १४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको छानविन हुने बताएका छन् । पोखरेलले उक्त घटनामा निष्पक्ष छानविन हुने बताएका छन् । 

मुख्यमन्त्री पोखरेलले अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कारबाही गरिने बताए । 

पोखरेलले भनेका छन्, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही हुनेछ ।’

उपचार गराइरहेका आफन्तको मृत्युपछि  बिहीबार भेरी अस्पतालमा केही मानिसले डाक्टर तथा नर्समाथि कुटपिट र हातपात गरेका थिए । उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्ली बहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।

अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार राति ८ बजे मृत्यु भएको थियो । उनको मृत्यु लगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेको आरोप लागेको छ ।