गैँडाकोटको मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवलकार सररर!

रुख कटानको काम सुरु।

गैँडाकोट, जेठ १०/नवलपुर जिल्लाको गैंडाकोट १ मा रहेको देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि आजबाट रुख कटानको काम सुरु भएको हो ।
गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा भएको एक कार्यक्रमका लगत्तै रुख कटानको थालनी गरिएको हो ।
केवलकार निर्माणको काम सुरु भएको बताउँदै नगरप्रमुख पौडेलले जिल्लाकै गौरवको आयोजना आफ्नो नगरमा हुनु खुशीको कुरा भएको बताए । विकाससँगै पर्यटन प्रवद्र्धनमा कोशेढुँगा सावित हुने पौडेलको दावी छ ।
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालि केवलकार निर्माण प्रालिले निर्माणको जिम्मा लिएको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदले एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने दावी गरे ।

म्यानेजर साउदका अनुसार साना ठूला गरी १ हजार ३८ वटा रुखहरु काटिने बताउँदै ठूला भन्दा पनि पोल साइजका रुख भएको र जेठ मसान्तसम्म कटानको कार्य सकाएर कन्स्ट्रक्सन सुरु गरिनेछ। उनका अनुसार चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले काम सुरु गर्ने बताउँदै निर्माण कम्पनीसँग चाँडै डिजाइन फाइनल गरी निर्माणको कामलाई अघि बढाइनेछ।
गैँडाकोट १ धारापानीमा चढ्नेगरी स्टेशन रहने र ओर्लने स्टेशन मन्दिर नजिक रहेको हेलिप्याड तोकिएको छ । दुई वटा स्नेशन रहने केवलकारको लम्वाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने साउदले जानकारि दिए । दैनिक ६ हजार यात्रु आवतजावत गराउने सक्ने क्षमता रहने छ । ५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण हुने बताइएको छ ।

मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भएपनि समयको माग अनुसार केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताए। धेरै निर्माण कम्पनी आएपनि चन्द्र ढकालको कम्पनीसँग मात्रै सामाजिक हित सहितको सहमति बनेपछि निर्माण अनुमति दिएको उनको भनाई छ । योग्यता र क्षमताको आधारमा स्थानीयलाई रोजागारी दिनेदेखि एउटा समिति बनेर थप काम गर्ने सहमति भएर मन्दिरको ३४ औँ साधारणसभाले निर्माण अनुमति दिएको उनले जानकारी दिए।
वडाअध्यक्ष हरिप्रसाद सापकोटाले लामो समयको संघर्षपछि केवलकार निर्माणले गति लिन शुरू गरेको भन्दै यो वडाको पनि गौरव भएको बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले निजी क्षेत्र नाफामूलक मात्रै नभई समुदायको विकासमा ठूलो काम गरेको छ भन्ने उदाहरण यो भएको भन्दै यसले पर्यटन प्रवद्र्धनका साथै विकास र रोजगारीका अवसर बढाउने वताए ।
मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कडेँलले केवलकार निर्माणको चरण र निर्माणपछि हुने फाहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए ।
मौलाकालिका मन्दिर व्यवस्थापन समितिका सचिव सुरेन्द्र रेग्मीले सहजीकरण गरेको कार्यक्रममा धारापानी खानेपानी संस्थाका अध्यक्ष लगायत समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो । कोरोना महामारीका वीच छोटो कार्यक्रम गरी कटानको काम थालनी भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सहित निर्माण कम्पनी मौलाकालि केवलकार प्रालि परिवार, निजी क्षेत्र,धार्मिक सेवा समिति, सामुदायिक वन देखि स्थानीयप्रति नगरप्रमुख पौडेलले आभार व्यक्त गरेका थिए।