निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही

वैशाख १९,चितवन । दोस्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । 

चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५८२ मानिस तथा ८४१ वटा सवारीसाधनलाई कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिवार दिनभरमा कारवाही गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट ७२ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको भन्दै गिरीले सो अवसरमा ५० थान मास्क समेत वितरण गरिएको जानकारी दिए ।
 
निषेधाज्ञामा तोकिएका बाहेकका सवारी चलाउनेलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते रातिदेखि ३१ गते रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।