नवलपरासीमा कोरोना संक्रमणका कारण एकै परिवारका दुई जनाको मृत्यु

 

नवलपरासी : पश्चिम नवलपरासीमा कोरोनाबाट दुईदिनभित्र एकै घरका बाबुछोराको निधन भएको छ ।

कोरोना संक्रमण भएपछि अस्पताल भर्न गरिएका पश्चिम नवलपरासी रामग्रामका एक युवकको अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखी उपचार गरिनुपर्नेमा आईसियू अभावकै कारण समयमै उपचार नपाउँदा मंगलबार बिहान मृत्यु भएको जनाइएको छ ।

उनलाई सास फेर्न गाह्रो भएपछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले रुपन्देहीको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा प्रयास गरिए पनि स्थान अभावकै कारण समयमै उपचार नपाउँदा उनको निधन भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताए ।

दुई दिनअघि मात्रै उनका बुबाको पनि कोरोनाकै कारण घरमै निधन भएको थियो । योसहित पश्चिम नवलपरासीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।