`कोभिड ट्रिटमेन्ट वार्ड´ सञ्चालन

 

सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ । केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ ।

ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका सङ्क्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ । अक्सिजनको मात्रा कम हुने सङ्क्रमितलाई बढी खतरा हुन्छ ।

आइसोलेसन कक्ष पुनः सञ्चालन

हेटौँडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ ।

आइसोलेसन कक्षमा हाल १५ शय्या छन् । यद्यपि शय्याको क्षमतालाई बढाउने तयारी भएको छ । सङ्क्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएका सङ्क्रमितलाई आइसोलेसन कक्षमा राखिने स्वास्थ्य शाखाले जनाएको छ । रासस