कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

भरतपुर, ४ असोज/मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम हुने भएको छ । २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दै छ । पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आज(आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिनुभयो । कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले कार्यक्रम भर्चुअल रुपमा गर्न लागिएको हो । असहज परिस्थितिमा समेत सूचना, समाचार र मनोरेञ्जनको क्षेत्रमा कालिकाको निरन्तरताप्रति सबैको सहयोग र हौसलाप्रति आभारी रहेको बताउनुभयो । कोभिड–१९ संक्रमण नेपालमा तीव्ररुपमा फैलिरहदा समेत आफ्नो कर्ममा डटेर अग्रपंक्तिमा रही काम गर्ने सबै सञ्चारकर्मीलाई उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ । विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवदेखि निरन्तरता दिने गरी यो वर्ष केही पृथक कार्यक्रम भर्चुअलबाट गरिने भएको हो । यसपाली १२ वटा विविध कार्यक्रम हुदैछन् । असोज ८ देवघाटस्थित वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई खाना खुवाउँदै आर्शिवाद लिएर वार्षिकोत्सवका कार्यक्रम सुरु हुनेछन् । असोज ८ देखि २५ गतेसम्म फोन, भाइबर कलबाट कालिकाको चौतारीमा कलाकार, श्रोता र दर्शक कार्यक्रम सञ्चालन हुनेछ । ९ गते ‘कृषिमा आधुनिकरण र अवसर’, १० गते अपांगता भएका व्यक्तिबीचको वादविवाद प्रतियोगिता, १२ गते वर्तमान अवस्थामा शिक्षा क्षेत्रका चुनौती, समस्या र समाधान विषयक अन्र्तक्रिया, १४ गते बढ्दै गएको एसिड आक्रमण र सरोकारवालाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सूचना प्रविधिको प्रयोग गरी चलाइने छ ।
एसिड आक्रमण रोकथामका लागि आएका सुझाव र छलफलको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिनुभयोे । १६ गते कालिकासँगका यादहरु, १७ गते अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलन, १९ गते कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत अन्र्तक्रिया, २१ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, २४ गते लोकगीत गायन प्रतियोगिता हुने जनाइएको छ । असोज २६ गते वार्षिकोत्सव समापन कार्यक्रम हुनेछ । प्रतियोगिताका विजेतालाई वार्षिकोत्सव समापनका दिनमा पुरस्कृत गरिनेछ ।
निर्देशक पौडेलले कालिका मिडिया सदैव श्रोता, दर्शक निकट रहने बताउनुभयो । राष्ट्रिय पञ्चैबाजा तथा गन्धर्व बाजा प्रतियोगिता, राष्ट्रिय लाकदोहोरी महोत्सव, कालिका म्युजिक अवार्ड लगायतका विगतका वार्षिकोत्सवमा गरिदै आएका कार्यक्रमलाई सहज परिस्थिति सृजना भएपछि निरन्तरता दिइने बताउनुभयो । कालिका मिडिया अन्र्तगत कालिका एफएम २०५९ देखि, सांगितिक रेडियो कालिका ९१ २०६४ देखि र कालिका एचडी टेलिभिजन २०७१ सालदेखि, सुरुवातदेखिनै कालिका न्यूज डटकम सञ्चालनमा छन् । जनचासो, जनसरोकारका सवालमा कालिका मिडियाले सदैव प्रतिवद्ध रहदै कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।