भोकको डरले फेरि भारत : दुई महिनामै उल्टियो दृष्य

गौरिफन्टा नाकामा भारततर्फ जान लागेका बालबच्चा सहितका नेपालीहरु। तस्विरः दिलबहादुर छत्याल

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ७ हरैयाका भीम बहादुर वोहरा मद्रासमा एउटा घरमा काम गर्थे। भारतमा कोराना संक्रमण फैलिन थालेपछि त्रासले उनी चैत महिनामा घर फर्के। कमाएर ल्याएको सीमित पैसाले केही दिन उनको चुलो बल्यो।

तर लगातारको लकडाउनले यहाँ कुनै काम पनि नपाइने, भोकभोकै हुदाँ पनि बाँच्ने कुनै उपाय नदेखेपछि उनी मजदुरीको खोजीमा भारततर्फ जान बाध्य भएका छन्। ‘केटाकेटी कसरीे पाल्ने, भोकभोकै छन्। एक छाक खाउ भनेर कसैले दिँदैन।’ उनले पीडा सुनाए, ‘भोकभोकै मर्ने अवस्था भएकाले भारत जानुपर्ने बाध्यता छ।’ पहिलेको ठाउँमा जान नसकिने भएपछि सिमला जान लागेको उनी बताउछन्।

कैलाली लम्की चुहा नगरपालिका वडा नंम्वर ८ कि सुनिता बस्नेत पनि ५ बर्ष र ७ बर्षका दुई छोरासहित भारततर्फ जान नाकामा लाइनमा थिइन्। मुम्मईमा होटलमा मजदुरी गर्ने श्रीमानसँगै उनी बस्थिन। कोरोना संक्रमण फैलिएपछि दुई महिना पहिले श्रीमानसहित उनी नेपाल फर्केकी थिइन्।‘कोरोनाको त्रासले अब नेपालमै केही काम गरेर बस्ने भनेर बालबच्चासहित घर आएका थियौं’उनले भनिन्,‘यहाँ कुनै रोजगार पाइदैन, लकडाउन मात्र छ, परिवार पाल्न नै समस्या भएर भोकभोकै हुनुपर्ने अवस्था आएपछि सबैैजना उतै जानु परेको छ।’

भारतमा मजदुरी गरेर परिवार पाल्नेहरु दुई तीन महिनामै खान पनि नपाएर भोकभोकै हुने अवस्थाले कत्ती अत्तालिएका छन् भन्ने कुरा दुई छोरा र श्रीमतीलाई समेत केही दिन नकुरेर उनका श्रीमान एक साताअघि भारत पुगिसकेकोले पनि झल्काउन्छ।

माईतीमा आफन्तको मृत्यु भएकाले उनी केही दिनअघि मात्र भारतको मुम्मई गएका श्रीमानसँगै जान पाइनन्। ‘काम गर्ने गरेको होटल बन्द भएर केही दिनअघि मात्र खुलेको हो, ढिलो गएमा काम पाइन्छ कि पाइदैन भनेर हामीलाई पछि आउनु भनेर एक साता अघि जानु भएको हो’उनले भनिन्। गाउँका आफन्तसँग उनी गैरहेकी थिइन्।

गौरिफन्टा नाकामा एक साता यता भारतबाट प्रवेश गर्नेको भन्दा भारत जानेको संख्या बढी रहेको कैलालीका प्रहरी नयाव उपरीक्षक प्रतिक बिष्टले बताए।‘

कैलाली गोदावरी गोदावरी नगरपालिका वडा नं १२ का महेन्द्र राई मुम्मईमा मजदुरी गर्थे। कोरोना संक्रमण फैलिएसँगै उनी घर आए। एकातिर रोजगारी गुम्यो, अर्कोतिर लकडाउनले यहाँ केही गर्न पनि नमिल्ने भएपछि उनलाई पेट पाल्न नै समस्या भयो।‘पहिले रोजागरी गर्ने ठाउँमा बन्द भयो,पेट पाल्न नै समस्या भएर भोकै मर्ने अवस्था भएकोले श्रीमती र म मजदुरी गर्न सिमला जाँदै छुँ’उनले भने।

माथिका केही त प्रतिनिधि मात्र हुन। यहाँ बसेर जिविकोपार्जन गर्ने कुनै आयश्रोत नभएको र आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण भारतका बिभिन्न ठाउँमा मजदुरी गर्नेहरु कोरोनाको संक्रमण फैलिएसँगै गत फागुन महिनादेखि घर फर्कन थाले। त्येतीवेला कोरोनाको डरले ज्यान जोगाउन घर फर्केका हजारौ मजदुरहरुलाई यहाँ कुनै पनि आम्दानीको श्रोत नभएको र कुनैबाट राहत समेत उपलब्ध नभएकाले चुल्हो बल्न हुने स्थितिमा पुगेको छ। बालबच्चा र परिवार कसरी पाल्ने भन्ने पिरलोमा उनीहरु छन्। भारतमा पहिले काम गरिरहेको ठाउँमा काम पाइने संभावना भएकाहरु पुरानै ठाउँमा जान थालेका छन् । तर धेरैजसो रोजगारी गुमेकाले उनीहरु समस्यामा परेका छन्। कयौ जना पुरानो काम गरेको ठाउँमा रोजगारीका लागी जान नसकिने र काम नपाइने भएपछि मजदुरीको खोजीमा सिमला लगायतका नयाँ ठाउँमा जान लागेका छन्।

‘भारतबाट फर्केकाहरुलाई पेट पनि पाल्न नसकेर भोकभोकै हुनुपर्ने दयनीय अवस्था देखिन थालेको छ’ ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट भन्छन्,‘तीन तहकार सरकार छन्, सरकारले अहिले अभिभावकको भुमिका खेल्नुपर्नेमा उनीहरु भोकभोकै भएर भारततिर जाने अवस्थाले देशकै बेइज्जती भएको छ।’

भारतबाट फर्केका मजदुरको घरमा पेटपाल्नलाई एक छाक खाना पनि नहुने अवस्था रहेको उनले बताए।‘तीन तहका सरकार छन्, सरकारले तीमीहरुलाई भोकभोकै चाही मर्न दिदैनौ है, राहात दिन्छु भनेर आश्वस्त पार्न सक्नु पर्नेमा चुकेको छ ’उनले भने।

कैलालीको त्रिनगरसँग जोडिएको गौरिफन्टा नाकामा मजदुरीका लागी भारततर्फ जानलागेका काखे बालक बोकेका महिला, बालबालिका, युवादेखि गालामा चाउरी परेका बृद्धहरुको खचाखाच भरिएको लाम प्रत्येक दिन देखिन्छ। भारतमा कोरोनाको संक्रमण शुृरु भएसँगै त्रासले फागुनको अन्तिम साता देखि नेपालीहरु घर फर्कन थाले। फागनुको अन्तिम सातादेखि सरकारले अन्तराष्ट्रिय सीमा बन्द गरेर प्रवेश निषेध गरेको चैत ११ गते सम्म भारतका बिभिन्न ठाउँबाट मजदुृरी गरि घर फर्कने लाम देखिन्थ्यो। पछि नाका प्रवेश खुला गरेपछि जेठ र असार महिनामा पनि घर फर्कनेको लर्को नै थियो। दुई महिनामै नाकामा अहिले दृष्य ठीक उल्टिएको छ। त्यतीवेला कोरोनाको संक्रमणले अर्काको देशमा मर्नुभन्दा आफ्नै देशमा दुःख गरेर भएपनि घरपरिवारसँगै बस्न घर फर्केको भनेर उनीहरुको उत्साहित जवाफ मिल्थ्यो। भारतमा कोरोनाको थोरै संक्रमण फैलिएको वेला त्रासले घर आएका उनीहरु भारतमा कोरोना सं्रमण व्यापक भइरहेकै बेला बाध्य भएर त्यहि भुमरीमा पस्न तयार भएर गैरहेका हुन। नाकामा भारततिर गैरहेका सबैैका मुहारमा निराशा र बाध्यताको भाव प्रष्ट देखिन्थ्यो।

अहिले पेट पाल्ने कुनै उपाय नभएर भोकभोकै मर्ने अवस्था आएकाले भोक मर्नुभन्दा रोगले मरुला भनेर एउटै परिवारका बुुवा, छोरा, श्रीमान श्रीमती मदजुरी गर्न गैरहेको उनीहरु सबैैको एउटै जवाफ छ।

‘यहाँ लकडाउनले कुनै काम पाइदैन, बालबच्चा केले पाल्ने, पेट पाल्नु त पर्यो, भोक भोकै मर्ने अवस्था आएकाले मजदुरी गर्न बाध्यता भएर जाँन लागेका हुँ’ बालुराज ओझाले भने,‘कोरोना फैलिरहेको यस्तो बेला भारत जान कोलाई रहर होला थियो होला ररु।’

आधारकार्ड भएकालाई मात्र भारतमा प्रवेश दिइने भएपनि अहिले आधारकार्ड नभएका सबै युवालाई मजदुरीका लागी भारत जान दिइराखिएको छ।

भारतको सिमलामा अहिले स्याउ बटुल्ने सिजन हो।त्यहाँ नेपाली मजदुरहरु सस्तोमा श्रम गर्ने गर्छन्। सस्तोमा मजदुरी गर्ने पाइने भएकाले स्याउ टिप्ने, बटुृल्ने ठेकेदारले सरकारी निकायको अनुमती लिएर नेपाली मजदुरलाई लिन आफ्नो एजेण्ट नाकासम्म नै पठाएको छ।‘आधारकार्ड भएकालाई र माथिल्लो अधिकारीको अनुमती लिएकालाई हामीले प्रवेश गराइरहेका छौं’गौरिफन्टा नाकामा प्रवेश गराईरहेका भारतीय प्रहरी एस एसबीका एक अधिकारीले भने,‘एक सातादेखि भारत प्रवेश गर्नेको संख्या बढेको छ।’

गौरिफन्टा नाकामा एक साता यता भारतबाट प्रवेश गर्नेको भन्दा भारत जानेको संख्या उल्लेख्य रुपमा बढी रहेको कैलालीका प्रहरी नयाव उपरिक्षक प्रतिक बिष्टले बताए।‘अहिले पहिलेको भन्दा ठीक उल्टो भएको छ , अहिले भारततिर जानेको संख्या ह्वात्तै बढेर गएको छ।’ भदौको शुरुवातदेखि भारत जानेको संख्या बढेको हो।

भदौ १२ गते यतामात्र सुदूरपश्चिमको गौरिफन्टा र गड्डा चौकीनाकावाट २ हजार भन्दा बढी भारत गएको कंचनपुर प्रहरी कार्यालयका प्रहरी नयाव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

‘म बुवासँगै मजदुरी गर्न भारत जादै छुँ’ ९ जनाको समुहमा गैरहेका टिकापुरका आशिष चौधरीले भने,‘हामी ५ जना पहिलो पटक जान लागका हौं, लकडाउनले बाच्नै गाह्रो भएकाले मजदुरी गर्न गैरहेका हौं।’

सुदूरपश्चिमका बिभिन्न जिल्ला, बर्दिया, बाँके लगायतका मजदुरीका लागि सुदूरपश्चिमको नाका भएर भारततर्फ गरहेका छन्।

आयश्रोत नभएको र आफूसँग भएको जमिनको कमाइले ३,४ महिना पनि खान नपुग्ने भएकाले सुदूरपश्चिमका करिव ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। फागुन यता ३ लाख बढी नेपालीहरु घर फर्केका छन्। ‘भारतबाट फर्केकालाई तत्काल भोकभोकै हुन नदिन राहातका कार्यक्रम र दिर्घकालिन रुपमा स्वरोजगार सृजना गर्ने कार्यक्रम ल्याउन सक्नपर्छ’नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्। आजको राजधानी दैनिकबाट