इब्रु टिम्तिकको निधन : ‘अदालतमा राजनीतिक छाया’, टर्कीमा कसरी कुण्ठित हुँदैछ न्याय ?

न्यायका सिद्धान्तमाथि दमनको बुट बजार्दै सत्ताधारीहरु भिन्नमतप्रति चरम असहिष्णु बनेपछि र शक्ति पृथक्कीकरणको सिद्धान्तलाई तिलाञ्जली दिएर स्वतन्त्र अदालत पनि राजनीतिक सत्ताको लाचार छायामा परिणत भएपछि न्यायको लागि अहिंस्रक आवाज उठाउनेहरुको कसरी दुःखान्त अवसान हुने गर्छ भन्ने कुराको सबैभन्दा पछिल्लो उदाहरण बनेकी छिन् टर्कीका मानवाधिकारवादी अभियन्ता एवं वकिल इब्रु टिम्तिक ।

टिम्तिकले टर्कीका राज्यसत्ताविरुद्ध कुनै हतियार उठाएकी थिइनन् । उनको माग कुनै राज्यविप्लवसँग सम्बन्धित पनि थिएन । उनको एउटै माग थियो– आफू र आफूहरुविरुद्ध टर्कीको राज्यसत्ताले लगाएका ‘अन्यायपूर्ण’ अभियोगहरुको निष्पक्ष छानविन र न्यायिक सुनुवाइ । तर उनको त्यो मागलाई टर्कीको राज्यसत्ताले वेवास्ता गर्यो । राज्यसत्ताको लाचार छायामा रुपान्तरण भएको त्यहाँको अदालतले उनीहरुविरुद्ध भइएको अन्यायपूर्ण हरकतका विरुद्ध गरिएको न्यायको गुहारलाई सुन्न चाहेन । फलतः टिम्तिकले अपनाइन् भोक हड्ताल अर्थात् आमरण अनसनको बाटो । उनले उठाएका निष्पक्ष छानविन र न्यायिक सुनुवाइको जायज मागलाई सम्बोधन गर्ने हिम्मत टर्कीका काँतर राज्यसत्ताले नगरेपछि अन्ततः उनले भोक हडतालकै वीच आफ्नो देह त्याग गरिन् । र, उनी पनि यसअघि सोही बाटो अपनाएर ‘शहादत’ प्राप्त गरेका आफ्ना अन्य सहयोद्धाहरुकै पंक्तिमा सामेल भइन् ।

वकिल इब्रु टिम्तिकको निधनपछि यतिबेला टर्कीका मात्रै हैन, विश्वभरिकै मानवअधिकारवादी तथा न्यायपूर्ण आवाजका समर्थकहरु स्तब्ध बनेका छन् । बिहीबार आफ्नो अनसनको २ सय ३८ औं दिनमा टिम्तिकको निधन भएको भएको थियो । त्यसअघि उनी उपचारका लागि इस्तानबुलस्थित बरिककोय डाक्टर सादी कोनुक ट्रेनिङ एन्ड रिसर्च अस्पतालमा थिइन् ।

टिम्तिकका नजिकका साथीहरुका अनुसार भोकले शिथिल भएकाले टिम्तिक वजन ३० किलोमा झरिसकेको थियो । आफूविरुद्ध लागेका अभियोगको निष्पक्ष सुनुवाई हुनुपर्ने माग राख्दै उनी भोक हड्तालमा थिइन् । न्यूयोर्क पोष्टका अनुसार, टिम्तिकलाई भर्ना गरिएको अस्पतालको अवस्था जेलको भन्दा खराब रहेको उनका नातेदारले बताएका छन् । ती नातेदाकार अनुसार, अस्पतालमा जानिजानिकनै रातभर बिजुली बालिने गरिन्थ्यो र उनको कोठामा चिसो हावा पठाइने गरिन्थ्यो । अस्पतालका कर्मचारहिरुले पनि टिम्तिकलाई भोक हडताल खत्तम गर्न दबाब दिँदै खाना खान तथा औषधि लिन दवाब दिने गर्थे ।

तर राज्यले उनको मागको वेवास्ता गर्‍यो । उनको रिहाईका लागि संवैधानिक अदालतमा रिट पनि दायर भएको थियो । तर मृत्युको खतरा नरहेको भन्दै अदालतले रिहाई गर्नुपर्ने माग खारेज गरिदियो । अन्तत, वारपारको अवस्थामा रहेको यस हड्ताल २ सय ३८ औं दिनमा पुुग्दा उनले हारिन्, राज्य ‘विजयी’ भयो । त्यसयता, सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै राजनीतिज्ञ, कानूनविद्, कलाकार र पत्रकारहरुले टर्की सरकारको निन्दा गरेका छन् । उनीहरुले जोकोहीमाथि लागेका आरोपको निष्पक्ष सुनुवाई हुनुपर्ने जोडदार माग पनि गरेका छन् ।

टर्कीका चर्चित संगीतकार हुस्नु अर्कनले लेखेका छन्, ‘उनी न्याय खोज्दै थिइन्, हामी यो बिर्सने छैनौं ।’ मुख्य विपक्षी रिपब्लिकन पार्टी इस्तानबुलका सांसद् गुर्सेल टेकिनले लेखेका छन्, ‘२ सय ३८ दिनदेखि अनसनमा रहेकी वकिल इब्रु टिम्तिकले जीवन गुमाएकी छिन् । संवैधानिक अदालतले उनको रिहाई अस्विकार गर्‍यो । राजनीतिक न्यायलयको अर्थ हत्यारामा परिणत भइसकेको न्यायालय हो । न्याय हुँदैन भने त्यहाँ यातना हुन्छ । न्यायविरुद्धको अपराधका लागि अहिलेको सत्ता इतिहास र राष्ट्रका अगाडि कठघरामा उभिनुपर्नेछ ।’

सञ्चारकर्मी तथा सांसद् अहमेद सिकले लेखेका छन्, ‘यो दानवीतन्त्र अवश्य अन्त्य हुनेछ । तर जतिबेला त्यो दिन आउनेछ, त्यतिबेला आजको मौनताका कारण हामी एकअर्काको अनुहार हेर्न पनि योग्य रहनेछैनौं ।’ युरोपेली कमिसन र युरोपेली मानवअधिकार काउन्सिलले घटनाप्रति दुख व्यक्त गर्दै टर्कीको मानवअधिकारको अवस्थाबारे प्रश्न उठाएका छन् । टर्कीस् सरकारले वाक स्वतन्त्रता र न्यायमा अवरोध सिर्जना गरेको भन्दै उनीहरुले भत्र्सना गरेका छन् । अदालतमा राजनीतिक छाया परेकाले इब्रुको मृत्यु भएको भन्दै अदालतलाई निष्पक्ष बनाउनुपर्ने माग एम्नेस्टी इन्टरनेशनलले गरेको छ ।

के थियो टिम्तिकमाथिको आरोप ?

४२ वर्षीया टिम्तिक वकिल तथा मानवअधिकारवादी अभियन्ता थिइन् । उनी समकालीन वकिल संघ (सिएचडी)मा आबद्ध थिइन् । यो बामपन्थी वकिलहरुका धेरै संगठनमध्ये एक हो । अल्ट्रा–माक्र्सवादी संगठन पिपुल्स लिबरेशन पार्टी फ्रन्ट डिएचकेपी सीसँग यस संगठन निकट रहेको मानिन्छ । डिएचकेपी सीविरुद्ध अंकारामा अमेरिकी दूतावासमाथि २०१३ मा हमला गरेको तथा धेरै आतंकवादी हमलाहरु गराएको आरोप छ । यस संगठनलाई टर्कीसहित संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले आतंककारी घोषणा गरेका छन् ।

त्यसैले, यस समूहसँग जोडिएको र समूह सञ्चालन गरेको आरोप लगाउँदै २०१७ मा उनीसहित १६ वकिलहरु पक्राउ परेका थिए । यसपछि २०१९ मार्चमा उनीहरुलाई इस्तानबुलस्थित अदालतले १७ वर्ष ६ महिना जेलसजाय सुनायो । यस्तो अन्यायपूर्ण फैसलाको विरोध गर्दै आएकी इब्रुले गत जनवरीदेखि आमरण अनसन सुरु गरेकी थिइन् । १ जुनमा उनीहरुको रिहाइका लागि इन्टरनेसनल एसोसिएसन अफ डेमोक्रेटिक लयर्सका तीन सय ६५ जना र टर्कीका चार सयजना गरी कुल ७ सय ६५ जना वकिलले हसताक्षर गरेर टर्कीको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

इब्रुको निधन बिहीबार भएपनि शुक्रबार मात्रै यो समाचार बाहिरियो । त्यसपछि इस्तानबुलमा अदालत र सरकारको विरोधमा ठूलो प्रदर्शन भयो । प्रहरीले प्रदर्शनमा सहभागीहरुमाथि अश्रुुग्याँस र रबर बुलेट चलायो, केही वकिलहरु पक्राउ समेत परे ।

वाक स्वतन्त्रतामा अंकुश

सरकारप्रति असन्तुुष्टि व्यक्त गर्ने र फरक मत राख्नेहरुविरुद्ध राष्ट्रपति रिसेप तयप एर्दोगानको सरकार कठोर बन्दै गएको पत्रकार तथा मानवअधिकारवादीहरुको विश्लेषण छ । २००३ देखि २०१४ सम्म टर्कीको प्रधानमन्त्री रहेका एर्दोगान २०१४ यता राष्ट्रपति छन् । सुरुमा लोकतान्त्रिक विधिबाटै सत्तामा पुुगेका इर्दोगानमाथि त्यसयता शक्ति केन्द्रीत गर्ने र विपक्षीलाई कमजोर बनाउनका लागि बारम्बार संविधान संशोधन गर्ने गरेको आरोप लाग्दै आएको छ । विशेषगरी २०१६ मा आफूविरुद्धको सैन्य ‘कुु’ असफल बनाएपछि इर्दोगान अझै शक्तिशाली बनेर उदाएका छन् । यस घटनापछि उनले जनमतसंग्रहमार्फत संविधान संशोधन गरेर राष्ट्रपतिमा शक्ति केन्द्रीत रहने व्यवस्था ल्याएका छन् । त्यसयता, उनी विपक्षी र मानवअधिकारवादीहरुप्रति निरन्तर कठोर बन्दै गइरहेका छन् । जसकारण, टर्कीमा मानवअधिकारको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायले सवाल उठाउँदै आएको छ ।

यसअघि टर्कीको लोकप्रिय लोक सांगीतिक समूह ‘योरुम ग्रुप’ र यसमा आबद्ध कलाकारमाथि सरकारले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित पिपुल्स लिबरेसन पार्टी फ्रन्ट (डिएचकेपी–सी) सँगको साँठगाँठको अभियोगमा यस सांगितिक समूह तथा उनीहरुसँग निकट ३० जना पक्राउ परेका थिए । यसमध्ये २०१९ मा गायिका हेलन बोलेकसहित केही व्यक्ति रिहा भए । तर ब्यान्डका ७ जना अझै जेलमै थिए । त्यसपछि आफ्ना साथीभाईको रिहाइ तथा सांगितिक समूहमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै हेलनले घरमै भोक हड्ताल सुरु गरेकी थिइन् । हड्तालको २ सय ८८ औं दिनमा गत मेइमा उनको निधन भयो ।

एजेन्सीहरुको सहयोगका अन्वेषण अधिकारी