संक्रमितलाई पाइलैपिच्छे सास्ती!

काठमाडौँ/भक्तपुर सूर्यविनायकका एक पुरुषलाई साउन २८ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह, उच्च रक्तचापका दीर्घरोगी हुनाले कोरोनाको कुनै लक्षण नभए पनि आत्तिए ।
अस्पतालको आइसोलेसनमा जान वडा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), स्वास्थ्य सेवा विभाग हुँदै मन्त्रालयका पदाधिकारीलाई गुहारे । तीन दिनपछि बल्ल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ठाउँ पाए । संक्रमण पुष्टि भएको सोह्रौं दिनमा उनी अस्पतालबाट डिस्चार्ज भएर घर आउँदा परिवारका कोही थिएनन् । अघिल्लो दिनै संक्रमण देखिएर उनका श्रीमती, छोरा र सालो आइसोलेसन गइसकेका थिए ।
ती पुरुषलाई कोरोना पोजिटिभ देखिएको नवौं दिनमा परिवारजनको स्वाब संकलन गरिएको थियो । तेस्रो दिनमा पीसीआर रिपोर्ट पोजिटिभ आयो । उनका छोरा र सालोलाई लक्षण पनि देखिएको थियो । उनीहरूले आइसोलेसनमा जान चाहँदा स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस चाहिने भयो ।
संक्रमितलाई आइसोलेसनमा पठाउन बाँकी नै थियो । तर उनीहरूको बसेको घर छेउमा प्रहरीले कोरोना संक्रमित क्षेत्र भनेर कागज टाँसिसकेको थियो । ‘कोरोना पोजिटिभ देखिनेबित्तिकै समुदायमा सबै जना डराएका थिए । संक्रमित भएको थाहा पाएको तीन दिनसम्म पनि घरमै बसेपछि हल्ला फैलियो,’ संक्रमित महिलाले भनिन्, ‘त्यसपछि हामीलाई विभेद हुन थाल्यो ।’
संक्रमित तीन जनाले वडा र जनस्वास्थ्यले ढिलाइ गरिदिँदा आइसोलेसन सेन्टर जान तीन दिन कुर्नुपरेको थियो । ‘त्यो पनि भनसुन गर्नुपर्‍यो,’ संक्रमितका आफन्त सुमन लुइँटेलले भने, ‘टोलमा अझै कन्ट्याक्ट ट्रेसिङ भएको छैन ।’ संक्रमितलाई अस्पताल भर्ना गर्न र एम्बुलेन्सको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता, टेकु अस्पतालका निर्देशकलाई हारगुहार गरेको उनले बताए । यसअघि ईडीसीडीले संक्रमितलाई सिधै आइसोलेसनमा पठाउँथ्यो । मन्त्रालयको सिफारिसमा मात्रै आइसोलेसनमा जान पाइने व्यवस्थाले संक्रमितलाई सास्ती थपेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।