ओली–प्रचण्ड विवाद – संवाद हुँदै महाधिवेशन केन्द्रित ।

काठमाडौं/सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आन्तरिक विवाद टुंग्याउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार महाधिवेशन केन्द्रित संवाद भएको छ।

नौ दिनपछि साढे तीन घन्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहाललाई अहिले पार्टीभित्रको विवाद टुंग्याउन र महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रस्ताव गरेका छन्। ओलीको प्रस्तावपछि महाधिवेशन केन्द्रित संवाद भएको हो।

वार्ताको प्रारम्भमै ओलीले दाहाललाई भनेका थिए, ‘महाधिवेशन गरौं र महाधिवेशनपछि तपाईं एकल अध्यक्ष बन्नुस्, म अध्यक्ष र प्रधानमन्त्री दुवै हुन्न भनेकै छु, अरू साथीहरूलाई पनि मिलाएर लैजानुस् भनेकै छु।’ वार्तापछि दाहाललाई उद्धृत गर्दै उनीनिकट स्थायी कमिटीका एक सदस्यले भने, ‘ओली पक्षले महाधिवेशनमा दाहाललाई अध्यक्ष बनाउन सहयोग गर्ने प्रस्ताव यसअघि नै राखेको थियो तर आज (बिहीबार) को छलफलमा त्यस्तै त होइन तर महाधिवेशनबाट एकल अध्यक्ष बन्नुस् भन्ने प्रस्ताव उहाँ ९ओली० बाट आएको छ।’
ओलीले यस्तो प्रस्ताव राखेपछि दाहालले महाधिवेशनका विषयमा पनि छलफल गर्ने र स्थायी कमिटीको बैठकलाई निरन्तरता दिएर अन्य मुद्दामा पनि छलफल गर्नुपर्ने बताएका थिए।

दुवै नेताबीचको वार्ता स्थायी कमिटीको बैठक बोलाएर टुंग्याउने सहमतिसहित टुंगिएको ती सदस्यले बताए। ओलीले भने स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बोलाउनुपर्ने प्रस्ताव राखेका थिए। उनले सचिवालय बैठकले गर्ने निर्णयअनुसार पार्टी र सरकार चल्ने तथा सरकारले कुनै निर्णय गर्दा पहिला सचिवालयमा छलफल गराउने बताएका थिए। जवाफमा दाहालले भनेका थिए, ‘सचिवालयमा पनि छलफल गरौंला। पहिला स्थायी कमिटी बैठकलाई निरन्तरता दिनुपर्छ। यसैबाट विवादको निरूपण गर्नुपर्छ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।