कोरोनाभाइरसः जोखिमपूर्ण काठमाडौं !

काठमाडौं/काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ । बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन ।

साना चिया पसलहरुमा चिया चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किसकेको छ । ठूला क्याफेहरु पनि भरिभराउ हुन थालेका छन् । बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरुमा मानिसहरुको घुइँचो थियो । पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन् ।

पसलेहरुलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको पाइन्छ । धेरैले सरकारले जारी गरेको मापदण्ड पनि पूरा गरेका छैनन् । जसले गर्दा उपत्यकामा जोखिम बढ्दो देखिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।