महानगर प्रमुख रेनु दाहालद्वारा देवीथान पार्कमा वृक्षरोपण

भरतपुर/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवीथान पार्कमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ र २५ को सिमानामा पर्ने देवीथान पार्कमा नगर प्रमुख दाहाललेशुक्रबार हाडे बदामको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।

वृक्षरोपण गर्दै महानगर प्रमुख दाहालले महानगरपालिकालाई हरियाली बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । वातावरण स्वच्छ राख्नका लागि बोट बिरुवा रोप्नुपर्ने उल्लेख गर्दै दाहालले यसमा आफू निरन्तर लागिरहने बताउनुभयो । महानगरपालिकाको रिबरोडसँगै जोडिएको देवीथान पार्कमा वृक्षरोपणले थप आकर्षणको केन्द्र बनाउने दाहालले बताउनुभयो ।
सो पार्कमा बदाम, लिची, आँपलगायतका करिब ६ सय फलफूलका बिरुवाहरु रोपिएको भरतपुर २४ का वडाअध्यक्ष कान्छा मल्लले जानकारी दिनुभयो । करिब सात बिघाहा क्षेत्रफलमा फैलिएको देवीथान पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउनेगरि डीपीआर निर्माण भएको मल्लले जानकारी दिनुभयो ।

पाँच लाख रुपैयाँ खर्चेर निर्माण गरिएको डीपीआरअनुसारको काम सम्पन्न गर्नका लागि ८८ करोड रुपैयाँ खर्च हुने मल्लको भनाइ छ । देवीथान पार्कमा सामूहिक भवन, गणेश मन्दिर, चन्द्रकला देवीको मन्दिर,भ्यू टावर, चिल्ड्रेन पार्कसहितका संरचना निर्माण गरिने मल्लले बताउनुभयो । शुक्रबार भएको वृक्षरोपण कार्यक्रममा नगरप्रमुख दाहाल सहित, स्थानीय राजनीति
दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।