पुरातत्वले ‘श्रीरामको जन्मस्थल’ अध्ययन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको आधारमा पुरातत्व विभागले पर्साको ठोरी क्षेत्रमा उत्खनन र पुरातात्विक अध्ययन सुरु गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले हिन्दु देवता श्रीरामको जन्मस्थल पर्साको ठोरीमा भएको अभिव्यक्ति केही दिनअघि मात्रै दिएका थिए।

ओलीको अभिव्यक्तिमाथि तीव्र आलोचना भइरहे पनि विभागलाई अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निर्देशन दिइसकेको छ। ओलीको भनाइ र मन्त्रालयको निर्देशनपछि विभागले त्यसलाई सकारात्मक ठान्दै केही दिनदेखि छलफल गर्दै आइरहेको जनाएको छ। प्रधानमन्त्री ओलीले भारतले कृत्रिम अयोध्या सिर्जना गरेर रामलाई भारतमा जन्मिएको भ्रम फैलाएको बताएका थिए।

उक्त भनाइबारे आलोचना र टिप्पणी भइरहे पनि त्यसबारे अध्ययन गर्ने तयारी भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उनले भने, ‘यो हामीसँग सम्बन्धित कुरा हो, यदि रामको जन्म नेपालमै भएको हो या होइन अध्ययनपछि मात्रै थाहा हुन्छ।’

नागरिक दैनिकबाट