नेपाल प्रहरीको २८ औं महानिरीक्षक(आइजीपी)मा शैलेस थापा सिफारिस।

काठमाडौं, २३ असार/नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक(आइजीपी) मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् । मंगलवारको मन्त्रीपरिषद्को बैठकले थापालाइ आइजीपी बनाउने निर्णय भएको हो ।
वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । थापासँगै महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । पाल र थापा एकै दिन नेपाल प्रहरीको सेवामा प्रवेश गरेका हुन् । उनीहरू प्रहरी संगठनमा एकै मितिमा १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।दार्चुलाका पालले सुदूरपश्चिमबाटै सेवा सुरु गरेका हुन् भने भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका थिए।
थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । थापा २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।
नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् ।
सेवाको २८ वर्षसम्म उनले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा बिताएका थापाका बाबु शम्भु थापा २०५१र०५२ ताका डीआईजीबाट अवकाश पाएका अधिकृत हुन् ।
डीआईजीमा बढुवा भएपछि महानगरीय प्रहरी कार्यालय प्रमुखमा सरुवा भएका थापा त्यसपछि पुन महानिरीक्षकको सचिवालय र प्रहरी प्रवक्ता बनेका उनी एआईजीमा बढुवापछि मानवस्रोत तथा प्रशासन विभागमा सरुवा भएका थिए । थापाको अवधि १८ वैशाख २०७९ सम्मका लागि हुनेछ ।