राज्यकोष दुरुपयोगको आरोपमा फ्रान्सेली पूर्वप्रधानमन्त्री दम्पतीलाई जेल

पेरिस/फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई राज्यकोष दुरुपयोगको मुद्दामा जेल सजाय सुनाइएको छ । पेरिसको फौजदारी अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना गरेको भन्दै ५ वर्षको जेल सजायको फैसला गरेको हो ।

उनकी पत्नी पेनेलोपलाई भने ३ वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार दुवैलाई ३ लाख ७५ हजार युरो जरिवाना तिराउन आदेश दिइएको छ । फियोंले आफ्नी पत्नीलाई सहयोगी राखेर ८ लाख ३१ हजार ४ सय युरो आफ्नी पत्नीलाई दिएको तर कुनै काम भने नलगाएको आरोप लगाइएको थियो ।

फियों दम्पतीसँगै सहयोगी मार्क जुलोलाई पनि १० लाख युरो राष्ट्रिय सभालाई फिर्ता दिन आदेश दिइएको छ । उनले पनि फियोंको पक्षमा राज्य कोषको दुरुपयोग गरेको आरोप लागेको हो ।

पेरिस अदालतमा सोमबार फैसला सुनाउने क्रममा प्रमुख न्यायाधीशले भनेका छन् ‘भुक्तानी गरेको रकम उपयुक्त किसिमले सदुपयोग भएको देखिएन । श्रीमती पेनेलोप फियोंलाई कुनै काम नभएको पद सिर्जना गरेर नियुक्त गरिएको देखियो ।’ फियों फ्रान्समा सन् १९५८ यता ठूलो सजाय पाउने वरिष्ठ फ्रान्सेली राजनीतिज्ञ हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।