भ्रष्टचारको विरोध गर्ने गैंडाकोटकी उपमेयर शनिबारको दिन सरकारी गाडी चढेर बिहेभोजमा !

गैँडाकोट,असार १३/गैंडाकोट नगरपालिकामा मेयरले भ्रष्टचार गरे भन्दै आन्दोलन गर्ने उपमेयर आफै भ्रष्टचारमा लिप्त भएको दृश्य देखिएको छ। शनिबारको दिन उपमेयर ले सरकारी गाडी दुरुपयोग गरी विहेभोजमा गएकी हुन्।

लकडाउनको समयमा सरकारले बिहेमा हुने सहभागिको संख्या र भोजमा कडाइ गरेको छ । कुनै पनि विवाह उत्सव वा सांस्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी उपस्थित हुन नपाउने सरकारी निर्देशन छ ।
तर, सरकारी निर्देशनलाई खिल्ली उडाउँदै गैँडाकोटकी उपमेयर विष्णुकुमारी कँडेल आफैँ आज शनिबार दिन गैंडाकोट नगरपालिकाको सरकारी गाडी चढेर बिहेभोजमा पुगिन् । यो लकडाउनको समयमा शनिबार सरकारी साधनस्रोत र निर्देशनको चरम दुरुपयोग हो।
गैँडाकोट नगरपालिका–१७ स्थित होटल रेड हाउसमा उपमेयर कँडेल सरकारी गाडी बा २ झ १३४९ नम्बरको रातो जिप चडेर जन्तीसहित पुगेकी थिइन् । २०० बढी जन्ती सहभागी भएको बिहे भोजमा उपमेयरलाई सरकारी गाडीमा देखेपछि स्थानीयले विरोध गरेका थिए।
स्थानीयले कोरोनाको कहरको समयमा धेरै जन्ती लिएर उपमेयर किन आएको भनेर सोध्दा उनले आफूले २५ जना मात्र जन्ती ल्याउन आग्रह गरे पनि धेरै आएको स्वीकार गरिन् । छिमेकीको बिहे भएका कारण आफू सहभागी भएको उनले बताएकी थिइन् ।
सो क्रममा स्थानीयले चर्को विरोध गरे पछि उनी विवाह स्थल छाडेर बाहिरिएकी थिइन् ।
नवलपुरमा पनि हरेक दिन कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ । भीडभाड र जमघटले कोरोनाको जोखिम झन् थपिँदै गएको देखिन्छ ।
यसै बीच यस विषयमा उप मेयर कँडेल सँग सम्पर्क गर्न खोज्दा उनीसँग संपर्क हुन् सकेन।