सुरक्षाकर्मी कोरोनाबाट कति सुरक्षित ?

काठमाडौं /बल्खु पुलमा एकान्तकुनाबाट कलंकीतर्फ हुइँकिँदै गरेको मोटरसाइकल सुरक्षाकर्मीले रोके। चालकलाई सोधे, ‘तपार्इं कहाँदेखि आउनुभएको हो ? आज जोर नम्बर चलाउनुपर्छ भन्ने थाहा छैन रु ’ मोटरसाइकल चालकले जवाफ दिए, ‘पाटन अस्पतालमा बुवाको उपचार गरिरहेको छु। भेटेर आएको। पास पाउनु सजिलो छैन। त्यही भएर बिजोरमै पुगेर आएँ।’

सुरक्षाकर्मीले झन्डै एक दर्जन मोटरसाइकल र तीनवटा कार रोकेर राखेका थिए। उनीहरूले टाढाबाटै सोधपुछ गरिरहेका थिए। पहिलो घेरामा रहेर सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले न पीपीई लगाएका थिए। न मास्क गतिलो थियो। व्यवहारमा भने सुरक्षाकर्मी नरम नै देखिन्थे।

‘के गर्ने कोरोना नलागोस् भनेर कुनै सावधानी अपनाइएको छैन’, एक प्रहरी जवान भन्दै थिए, ‘यो मास्कले कतिन्जेल थेग्ने हो रु थाहा छैन।’

यस्तो दृश्य संघीय राजधानीका मुख्य चोकमा सजिलै देख्न पाइन्छ। सवारी चाप बढ्ने चोकहरू थापाथली, माइतीघर, सिंहदरबार, गौशाला, चाबहिल, बालाजु, कलंकी, कालिमाटी, सातदोबाटो र कोटेश्वरमा सुरक्षाकर्मीको दैनिक दिनचर्या टाढाबाटै सवारी रोक्ने र सामान्य सोधपुछ गरेर नियमानुसार छाडिदिने काम हुन्छ। लकडाउनको सुरुमा सुरक्षाकर्मीले कडाइ गरे पनि पछिल्ला दिनमा खासै कडाइ गरेका छैनन्।

राजधानीमा सुरुमा ड्युटीमै खटिएका बेला कालिमाटी प्रहरी वृत्तका दुई जनामा कोरोना संक्रमण देखियो। उनीहरू उपचारपछि निको भएर काममा फर्किएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार ४९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। संक्रमणपछि निको भई ३३ जना काममा फर्किएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।