आज खण्डग्रास सूर्यग्रहण: के गर्नु हुन्छ रु के गर्नुहुँदैन ?

काठमाडौं/आज आइतबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ । त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।

ग्रहण लाग्नुभन्दा करिब १२ घण्टा अगाडिबाट बालबच्चा, वृद्ध, बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको शास्त्रीय मान्यता रहँदै आएको छ । त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।

ग्रहण शूतकका कारण खण्डग्रास सूर्यग्रहण नसिकन्जेल अन्य धार्मिक गतिविधि र शुभकार्य नगर्दा राम्रो हुने अध्यक्ष गौतमको सुझाव छ । यद्यपि, ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । ‘यो बेला गरिएको सानो दान र धर्मले पनि अक्षय फलप्राप्त गर्ने शास्त्रीय मान्यता छ,’ उनले भने, ‘भगवानको मन्त्र जपले पनि धेरै फाइदा पुग्छ ।’

ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ । यस्तै, साढे सातबाट चिन्तामा रहेका मानिसले शनि देवको जप गर्नु उत्तम हुने भनाइ छ ।

कुन राशिलाई राम्रो ?
ज्योतिषशास्त्रअनुसार खण्डग्रास यो सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशिका मान्छेहरूका लागि राम्रो छ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिका लागि अशुभ रहेको ज्योतिषहरूले बताएका छन् । मेष राशिका व्यक्तिलाई श्रीप्राप्ति, सिंह राशिका व्यक्तिलाई लाभ हुने, कन्यालाई सुख र मकर राशिलाई पनि सुख रहेकोे सूर्य पञ्चांगले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।