रेमिट्यान्स छ प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७६/७७ को दस महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को दस महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७,४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति – संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको सङ्ख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५. ८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई रु. ७७२ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

निक्षेप ११ प्रतिशतले बढ्यो
यसैगरी समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ ।

२०७७ वैशाख मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो । २०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५.७ प्रतिशत रहेको थियो ।

यो आजको गोरखापत्र दैनिकमा समाचार छ ।