भरतपुरको क्यान्सर अस्पतालमा राजनीतिक पहुँचवालाहरु कामै नगरी तलब खादै ! कारबाही कसले गर्ने ?

चितवन/भरतपुर महानगरपालिका ७ कृष्णपुरमा रहेको स्वर्गीय वि.पी. कोइरालाको नामबाट सञ्चालित वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा काम गर्ने धेरैजसो कर्मचारी पहुँचकै आधारमा काम नै नगरी कार्यालय समय बिताउँदै तलब खाने गरेका छन् ।
नेपालकै सबैभन्दा बढी राजनैतिक थलोको रुपमा परिचित क्यान्सर अस्पताल पछिल्लो समयसम्म आइपुग्दा राजनैतिक गन्धबाट मुक्त हुन नसकेको कारणले नेताकै बलमा अस्पतालको लेखा शाखामा काम गर्ने अमृता कोइरालाले हाजिर गरेकै भरमा मासिक तलब खाने गरेकी छन् । अस्पतालभित्र राजधानी आस्थाकर्मी छिर्नासाथ ‘उ त्यहाँ हेर्नुहोस् त, राजनीतिक पहुँचको भरमा भर्खरै जागिर हात पारेकी कोइरालाले हाजिर ठोकेकै भरमा तलब बुझ्ने गरेकी छन्’ कोइरालाकै सहकर्मीले उनको खाली कुर्ची देखाउँदै बताए ।
कार्यालय समयमा नआउने तर दिउँसो पनि १ बजेपछि प्रायःजसो कार्यालयमा नबस्ने कोइराला जस्तै क्यान्सर अस्पतालमा हाजिर गरेकै भरमा तलब पड्काउने थुप्रै रहेको स्रोतको दावी छ । पाण्डे थरका एकजना इन्जिनियरले पनि क्यान्सरमा भन्दा घर परिवारलाई बढी समय दिँदै तलब झ्वाम बनाउने गरेका छन् । क्यान्सर अस्पतालको स्थापनाकालको कर्मचारी भन्दै सोर्सफोर्समा बढुवा पड्काउँदै हाजिर गरेकै भरमा तलब बुझ्ने गरेका पाण्डेलाई कारवाही कसले गर्ने ? यस्ता विषय खोज्ने हो भने क्यान्सर भित्र थुप्रै छन् ।
क्यान्सर अस्पतालको आवास गृहमा अख्तियारले छापा मार्ने हो भने कामकाजी कर्मचारीहरु थुप्रै भेटिन्छन् । कार्यकारी निर्देशकले सुधारको लागि थुप्रै प्रयास गरेको भएपनि उनलाई टेर्न छाडेको बताइन्छ । हाजिरको भरमा तलब खाने डाक्टर तथा कर्मचारीहरुको बारेमा अस्पतालका अध्यक्ष र नयाँ डाइरेक्टर लाई जानकारी नभएको होइन तर अहिलेसम्म केही कारवाही गर्न सकेका छैनन् ।
सेवा सुविधा, आवास र विदेश शयर क्यान्सरको नाममा गर्ने अनि चितवन नीजि अस्पतालको ढोकामा बोर्ड झुण्डाएर लाखौं कुम्याउने डाक्टरमाथि अबको नयाँ बोर्ड अध्यक्ष एवम् समस्य समेतले कारवाहीको डण्डा उठ्न सक्छ कि सक्दैन ? त्यो हेर्न बाँकी नै छ । विगतमा नारायणी डेभलपमेण्ट बैंकको कार्यालय खोल्न दिने विषयमा ठूलै आर्थिक चलखेल भएको थियो ।
अस्पतालका अधिकांश कर्मचारी र डाक्टरहरु कुन पार्टीको नेताको फेरो समातेर बढुवाको सूचिमा परिन्छ भन्ने सोचको विकास भएको सजिलै अनुमान गर्न सकिन्छ । कर्तव्यनिष्ठ कर्मचारीहरुको लामो समयसम्म बढुवा हुन सकिरहेको छैन । यस्ता विषयमा नयाँ समितिले ध्यान देला त ?
अस्पतालको विकासका लागि हाजिरको भरमा तलब खाने आधाभन्दा बढी कर्मचारीलाई विदा गर्नु आवश्यक देखिन्छ । बाँकी आधा कर्मचारीले अस्पतालको सम्पूर्ण काम सहजै गर्न सक्ने कुरामा कसैको दुईमत छैन । होइन भने अस्पतालको विकासको कल्पना नगर्दा नै बेस् ।